काठमाडौं – एनएससी–काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ मा नेपालले आफ्नो दोस्रो खेलमा आज बंगलादेशसँग खेल्दैछ । समूह ए मा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनल पुग्ने लक्ष्यमा छ । प्रतियोगिताको पहिलो खेलमा घरेलु टोली नेपालले किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ ।
बंगलादेश भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो । तुलनात्मक रुपमा कमजोर टिम बंगलादेशविरुद्ध सहज जित निकाल्दै भारतसँग अन्तिम खेलअघि नै नेपालले सेमिफाइनलमा स्थान बनाउन सक्छ । आजै यस समूहमा भारत र कीर्गिस्तानबीच पनि खेल हुनेछ । भारत र कीर्गिस्तानबीचको खेल बिहान १० बजे सुरु हुनेछ । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
दुवै खेल राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ । यस्तै समूह बी अन्तर्गत श्रीलंका र काजकस्तानबीचको खेल साढे १२ बजे तथा उज्वेकिस्तान र माल्दिभ्सबीचको खेल साढे ६ बजे सुरु हुनेछ । काजस्तानले पहिलो खेलमा माल्दिभ्सलाई हराउँदा उज्वेकिस्तानले श्रीलंकालाई पराजित गरेको थियो । यदि काजखस्तान र उज्वेकिस्तान आज पनि विजयी भए समूहको अन्तिम खेल अघि नै सेमिफाइनल पुग्नेछन् ।