काठमाडौं – स्पानिस ला लिगामा रियल मड्रिडले राभो भालेकानोलाई २-१ ले पराजित गरेको छ । रोड्रिगोले खेल सकिन एक मिनेट बाँकी छँदा गोल गरेपछि रियलले जित निकालेको हो । करिम बेन्जेमाले ३१औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।८४औं मिनेटमा आर डी टोमसले राभो भालेकानोले बराबरी गोल फर्काए । तर ८९औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई जित दिलाए ।
रियलल जितपछि ३६ खेलबाट ७४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । रियलको छिमेकी एट्लेटिको मड्रिडले भने तीन गोलको अग्रता जोगाउन नसक्दा स्पानयोलसँग ३-३ को बराबरी खेल्दै अंक बाँडेको छ । एट्लेटिको बराबरीमा रोकिएपछि रियल दोस्रो स्थानमै कायम रहेको छ ।
सउल निगेले २१औं र एन्टोनी ग्रीजमनले ४४औं मिनेटमा गोल गरेपछि एट्लेटिकोले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो । दोस्रो हाफको सुरुमै यानिक कारास्कोले गोल गर्दै एट्लेटिकोलाई ३-० को अग्रता दिलायो । तर एट्लेटिकोले यो अग्रता जोगाउन सकेन । स्पानयोलले अन्तिम आधा घण्टामा तीन गोल फर्कायो ।
६४औं मिनेटमा सेजार मोन्टेसले गोल गर्दै स्पानयोललाई खेलमा फर्काए । ७६औं मिनेटमा जोसेलुले पेनाल्टीमा गोल गरे भने ७९औं मिनेटमा भि डि एस कोस्टाले गोल गरी खेल बराबरी गरे । बराबरीपछि ३६ खेलबाट ७३ अंकसहित एट्लेटिको तेस्रो स्थानमा छ । ३६ खेलबा६ ३५ अंक रहेको स्पानयोल भने रेलिगेसन जोनमै छ ।