काठमाडौं – मलेसियासँग पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृखंला खेल्ने नेपाली राष्ट्रिय महिला टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार नेपाली टोलीलाई बिदाइ गरेको हो । क्यान अध्यक्ष चतुरबहादुर चन्द लगायतले टोलीलाई बिदाइ गरेका थिए । नेपाली टोली भोलि शनिबार मलेसिया प्रस्थान गर्ने क्यानले जनाएको छ ।
झण्डै एक वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने लागेको नेपाली टोलीमा यस पटक तीन नयाँ अनुहारले स्थान बनाएका छन् । रुविना क्षेत्रीको कप्तानीमा रहेको १४ सदस्यीय टोलीमा कृतिका मरासिनी, सम्झना खड्का र ईश्वरी विष्टले अवसर पाएका हुन् । नेपाल र मलेसियाबीचको पाँच खेलको शृंखला मे २९ देखि जुन ४ सम्म हुनेछ ।
नेपाली महिला क्रिकेट टिमले गत वर्ष जुन १७ देखि २५ सम्म मलेसियामै आयोजना भएको एसीसी महिला टी-२० च्याम्पियनसिप खेलेको थियो । नेपाली टिम : रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्योति पाण्डे, सरस्वती चौधरी