काठमाडौं – निशान लिम्बुले इन्जुरी टाइममा गोल गरेपछि हिमालयन शेर्पाले सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबलाई १-० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा हिमालयनका लागि निशानले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गरेका थिए ।
त्यही गोलले हिमालयनले ३ अंक जोड्यो । जारी लिगमा सातौं जितपछि २१ खेलबाट २९ अंक जोडेको हिमालयन छैटौं स्थानमा उक्लेको छ । पछिल्लो समय खराब प्रदर्शन गरिरहेको थ्री स्टार सातौं हारपछि २१ खेलबाट २६ अंकसहित नवौँ स्थानमा छ ।