काठमाडौं – ‘ए’ डिभिजन लिग खेलिरहेका क्लबहरुको अडानपछि राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय टोलीको बन्द प्रशिक्षण स्थगित गरिएको जनाएको छ ।
भारतमा आयोजना हुने १४औं पुरुष साफ च्याम्पियनसिप र त्यसअघि फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलका लागि बिहीबारबाट राष्ट्रिय टोलीको प्रशिक्षण सुरु भएको थियो । तर, क्लबहरुको अडानका कारण बन्द प्रशिक्षण तत्कालका लागि स्थगित गरिएको एन्फाले जनाएको छ ।
हाल सहिद स्मारक ’ए’ डिभिजन लिग खेलिरहेका १० वटा क्लबले लिग सकिएपछि मात्र आफ्ना खेलाडीलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पठाउने निर्णय गरेपछि एन्फाले प्रशिक्षण स्थगित गरेको हो । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले गत मंगलबार प्रतियोगिताका लागि ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका थिए ।
साफ च्याम्पियनसिप आगामी असार ६ देखि १८ गतेसम्म भारतको बेंगलुरुमा हुँदैछ । नेपाली राष्ट्रिय टोलीले साफ च्याम्पियनसिपको तयारीका लागि जेठ ३२ गते मैत्रीपूर्ण खेल खेल्दैछ । साफ च्याम्पियनसिपमा नेपाल समूह ’ए’ मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् ।
समूह ’बी’ मा भने लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । विश्व फुटबल महासंघ (फिफा)को प्रतिबन्धका कारण यो संस्करणमा श्रीलंका भने सहभागी हुने छैन । कुवेत र लेबनानले आमन्त्रित टोलीका रुपमा प्रतियोगितामा सहभागिता जनाएका हुन् ।