गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेटको उपाधि कास्कीलाई

Byekhel

२१ जेष्ठ २०८०, आईतवार २१ जेष्ठ २०८०, आईतवार २१ जेष्ठ २०८०, आईतवार

पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगिता–२०८० को उपाधि कास्कीले जितेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा कास्कीले नवलपुरमाथि १८ रनको जित निकाल्दै रु एक लाखसहित ट्रफी पुरस्कार पायो । उपविजेता बनेको नवलपुरले रु ५० हजार पुरस्कार पायो । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा यही जेठ १४ गतेदेखि पोखरामा प्रतियोगिता सञ्चालन भएको हो ।

फाइनल खेलमा नवलपुरले टस जितेर कास्कीलाई ब्याटिङको निम्तो दिएको थियो । कास्कीले निर्धारित २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १४२ रन बनायो । खेलमा अभिषेक थापाले २५ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै अविजित ३६ रनको योगदान दिनुभयो । सोहेल कुँवरले ३२ बलमा ३३ रन, किरण पौडेलले २१ र कृष्ण पौडेलले व्यक्तिगत १० रन बनाउनुभयो । नवलपुरबाट अपराजित पौडेलले तीन, कैलाश पगेनीले दुई तथा शिशिर भुसाल र विशाल पौडेलले समान एक÷एक विकेट लिनुभयो ।

खेलमा जितका लागि १४३ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको नवलपुर १२४ रनमा समेटिन पुग्यो । प्रतियोगिताको ‘म्यान अफ दी सिरिज’को उपाधि नवलपुरका अपराजित पौडलले प्राप्त गर्नुभयो । प्रतियोगिताको उत्कृष्ट बलर नवलपुरका अपराजित पौडेल, बेष्ट ब्याट्सम्यान कास्कीका मुस्कान थापा बन्न सफल हुनुभयो । फाइनल खेलको म्यान अफ दि म्याच भने कास्कीका अभिषेक थापा बन्नुभयो ।

प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरूलाई प्रतियोगिता संयोजक एवं प्रदेश खेलकुद परिषद्का कार्यकारी सदस्य ऋषिराम गौतम, कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देललगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा कास्की, तनहुँ, नवलपुर, गोर्खा, पर्वत, स्याङ्जा, बागलुङ र म्याग्दी गरी आठ जिल्लाको सहभागिता थियो ।

By ekhel