काठमाडौं – दिपेश आले मगरको निर्णायक गोलमा एनआरटीले शहीद स्मारक ए डिभिजन लिगमा बुधबार मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ । च्यासल रंगशालमा भएको खेलमा एनआरटीले मनाङलाई १-० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोड्यो ।
एनआरटीका लागि दिपेश आले मगरले १७औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । एनआरटीले त्यही अग्रता कायम राख्दै जित निकालेको हो । यस सिजन आठौं जित हात पारेको एनआरटी २५ खेलबाट ३३ अंक जोड्दै मनाङलाई नै पछि पारेर छैटौं स्थानमा उक्लेको छ । सातौं हार बेहोरेको मनाङ २५ खेलबाट ३२ अंकसहित सातौं स्थानमा झरेको छ ।