काठमाडौं – माल्दिभ्समा हुने फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ । माल्दिभ्स बास्केटबल संघले आज मंगलबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले भोलि भुटानसँग खेल्दै च्याम्पियनसिप सुरु गर्नेछ । दक्षिण एसियाका भारत र श्रीलंका बाहेक बाँकी पाँच राष्ट्रले प्रतिस्पर्धा गर्ने च्याम्पियनसिप राउण्ड रोविनका आधारमा खेलाइनेछ ।
जस अनुसार नेपालले दोस्रो खेल पाकिस्तानसँग पर्सि बिहीबार खेल्नेछ भने बंगलादेशसँग शनिबार तेस्रो खेल खेल्नेछ । यस्तै नेपालले लिगको आफ्नो अन्तिम खेल आउँदो आइतबार माल्दिभ्ससँग खेल्नेछ । लिग चरणपछि शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनलको दुवै खेल जुन २० मा हुनेछ । फाइनल खेल जुन २२ मा हुनेछ ।
सदिश प्रधानको कप्तानीमा रहेको नेपाली टोली च्याम्पियनसिपका लागि माल्दिभ्स पुगिसकेको छ । नेपाली टोलीका अन्य खेलाडीमा विनोद महर्जन, विजय बुर्जा, निकेश राखल मगर, मविन्द्र भण्डारी, अजय कुश्वाहा, दिवेश्वर शाह, आयुश सिंह, निश्चल महर्जन, मनीष केसी, अशिम श्रेष्ठ र श्रेयशबहादुर शाह छन् ।
निकेश मगर र श्रेयास बहादुर शाह पहिलो पटक फुट कोर्टका लागि राष्ट्रिय टिममा परेका हुन् । यस्तै प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ तथा व्यवस्थापक सुशील गुरुङ छन् । नेपालको पुरुष बास्केटबल टिमले सन् २०१९ डिसेम्बरमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) पछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो ।