काठमाडौं – महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल मंगलबार पाकिस्तान ए सँग पराजित भए पनि कविता कुँवर प्लेअर अफ दि म्याच बनेकी छिन् । हङकङमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तान ए टिमसँग ९ रनले पराजित भयो ।
खेलमा ओपनिङ बलिङ र ओपनिङ ब्याटिङ गरेकी कविताले अलराउण्ड प्रदर्शन गरेकी थिइन् । मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा पाकिस्तान ए लाई ८७ रनमा अलआउट गर्न कविता कुँवरले ३.२ ओभरमा १२ रन खर्चेर ३ विकेट लिएकी थिइन् ।
त्यसपछि सीता राना मगरलसँग कविताले ओपनिङ गरिन् । ओपनिङ जोडी सीता र वान डाउनमा आएकी विन्दु रावलको विकेट गएको हेरेकी कविताले १२औं ओभरमा आउट हुनुअघि ३२ बलमा २ चौका प्रहार गरी २० रन बनाइन् । उनी नेपालका लागि धेरै रन बनाउने खेलाडी रहिन् ।
८८ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दा ६ विकेट गुमाएर ७८ रन मात्र बनाउन सकेपछि ९ रनले पराजित भएको हो । नेपालले अब समूह ए मा आफ्नो दोस्रो खेल भारत ए टिमसँग आउने बिहीबार खेल्नेछ ।