काठमाडौं – कुशल भुर्तेलको शतक, अनि सोमपाल कामीको ५ विकेटको मदतमा नेपालले क्रिकेट विश्वकप छनोट अघिको अन्तिम अभ्यास खेलमा ओमानलाई हराएको छ । सोमपाल कामीले ५ विकेट लिएपछि ओमान २६७ रनमा अलआउट गरेको थियो । ओपनर कुशल भुर्तेलले ९४ बलमा १३ चौका र २ छक्का प्रहार गरी १०१ रन बनाएपछि नेपालले ४४.५ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको हो ।
शतक बनाएपछि उनी रिटार्ड बउट भएका थिए । भीम शार्कीले ५६ तथा कप्तान रोहित पौडेलले ३१ रन बनाए । ओमानका अकिश इल्यासले ४ विकेट लिए । फयज बटले २ विकेट लिए । त्यसअघि ७ रनमै ४ विकेट गुमाएको ओमानले कप्तान जिसान मक्सुदको शतकमा ४९.२ ओभरमा सबै विकेट गुमाएर २६७ रन बनाएको थियो ।
मक्सुदले १०६ बल खेल्दै १५ चौका र १ छक्का मदतमा १०९ रन बनाए । आएन खानले ५६ रन जोडे । नेपालका सोमपाल कामीले ९.२ ओभरमा ५७ रन खर्चेर ५ विकेट लिए । सन्दीप लामिछानेले ३ तथा करण केसी र प्रतिश जिसीले समान १ विकेट लिए ।
नेपालले यसअघि दक्षिण अफ्रिकामा खेलेको दुई र जिम्बाव्वे गएर खेलेको युएईसँगको अभ्यास खेलमा हार बेहोरेको थियो । विश्वकप छनोटमा समूह ए मा रहेको नेपालले जुन १८ मा घरेलु टोली जिम्बाव्वेसँग पहिलो खेल खेल्नेछ ।