खडक वारियर्सले पाँचौ संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जित्यो

Byekhel

१२ असार २०८०, मंगलवार १२ असार २०८०, मंगलवार १२ असार २०८०, मंगलवार

काठमाडौं – खडक वारियर्सले पाँचौ संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ । वारियर्सले तेश्रो पटक प्रतियोगिताको उपाधि विजेता बनेको हो । पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा कन्चनरुप राइनोजले दिएको १४५ रनको लक्ष्य खडक वारियर्सले ३ बल बाँकी छँदै पूरा गर्यो ।

जवाफी ब्ययाटिङ गर्ने क्रममा खडक वारियर्सले खराव सुरुवात गरेको थियो । ५८ रनमा ४ विकेट गुमाएको अवस्थाबाट पाँचौ नम्बरमा ब्याटिङ गरेका विशाल सुस्लिङले सम्हालिएको प्रदर्शन गरी टिमलाई जिताएका हुन् । उनले अविजित ४६ रन बनाउने क्रममा ३३ बलको सामना गरी ४ चौका र २ छक्का प्रहार गरे ।

विशालले पाँचौं विकेटका लागि विवेक यादवसँग ३० रन, छैटौं विकेटका लागि दिनेश अधिकारीसँग ३६ रन तथा सातौं विकेटका लागि अनिल यादवसँग २० रनको साझेदारी गरे । रोमाञ्चक खेलको ८ बलमा जितका लागि २० रन आवश्यक थियो । रशिद खानको १९औं ओभरको अन्तिम २ बलमा अनिल यादवले लगातार २ चौका प्रहार गरे ।

अन्तिम ओभरमा वारियर्सलाई जितका लागि १२ रन आवश्यक थियो । पप्पु यादवको पहिलो बलमा विशालले २ रन लिए । त्यसपछि लगातार दुई बलमा चौका र छक्का प्रहार गरी टिमलाई उपाधि जिताए । वारियर्सका ओपनर साहिल पटेलले २१, राज वर्माले १७ तथा कर्ण बिक, सन्दिप रजालीले समान १४ रनको योगदान गरे । अनिल यादव ९ रनमा अविजित रहे ।

कन्चनरुपका चित्र विष्टले सर्वाधिक ३ विकेट लिए भने राशिद खान, नारायण जोशी र पप्पु यादवले १–१ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको कन्चनरुप राइनोजले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४५ रनको योगफल खडा गरेको थियो ।

कन्चनरुपको लागि ओपनर दिलिप नाथले सर्वाधिक ४२ रन बनाए । उनले २२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै नारायण जोशीले २७, सुमित श्रेष्ठले १७ तथा अमित यादवले १६ रन बनाए । खडक वारियर्सका कप्तान विवेक यादवले सर्वाधिक ४ विकेट लिए ।

उनले ४ ओभरमा २५ रन खर्चिए। गोमानन्द अमात्यले २ तथा अनिल यादव र दिनेश अधिकारीले १–१ विकेट लिए। उपाधि विजेता खडक वारियर्सले २ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता कन्चनरुप राइनोजले एक लाख पचास हजार रुपैयाँ पुरस्कार पाएको छ । प्रतियोगिताको प्लेयर अफ द सिरिज घोषित कन्चनरुप राइनोजका राशिद खानले २५ हजार रुपैयाँ पुरस्कार पाए ।

छिन्नमस्ता लायन्सका शुभ कंसाकार उत्कृष्ट ब्याटर तथा खडक वारियर्सका दिनेश अधिकारी उत्कृष्ट बलर चुनिए । उनीहरु दुवैले जनही १५ हजार रुपैयाँ पुरस्कार पाए । बलान बिहुल सुपर किंग्सका विशाल यादव प्रतियोगिताको उदीयमान खेलाडी घोषित भए । उनले क्रिकेट किट पुरस्कार पाए ।

By ekhel