काठमाडौं – जुलाई १३ देखि २३ सम्म श्रीलंकामा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कपको लागि भारतीय टोली घोषणा भएको छ । जुनियर क्रिकेट कमिटीले मंगलबार यश डुलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ ।
टेष्ट राष्ट्र भारतले इमर्जिङ टिम्स एसिया कपका लागि युवा खेलाडीहरुलाई प्राथमिकता दिएको छ । इमर्जिङ टिम्स कपमा टेष्ट राष्ट्रका ए टिम सहभागी गराउने प्रावधान छ । गत वर्ष भारतलाई यू-१९ विश्वकपको उपाधि जिताएका कप्तान डुलसँगै ध्रुव जुरेल, निशान्त सिन्धु र राजभार्धन हंगार्गेकर भारतीय ए टिममा समावेश छन् ।
इन्डियन प्रिमियर लिग आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका युवा खेलाडी साई सुदर्शन, अभिषेक शर्मा, प्रबसिमरन सिंह, हर्शित राना, आकाश सिंहलाई भारतले टिममा राखेको छ । ५० ओभरको इमर्जिङ टिम्स कपमा एसियाका पाँच टेष्ट राष्ट्रको ए टिमसँगै एसोसिएट राष्ट्र नेपाल, युएई र ओमानको राष्ट्रिय टिमले प्रतिस्पर्धा गर्नेछ ।
नेपाल, युएई र ओमान एसीसी प्रिमियर कपको शीर्ष तीनमा रहेर इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएका थिए । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । भारत र पाकिस्तानको ए टिमसँग नेपाल समूह बी मा छ । यस समूहमा युएई पनि छ । समूह ए मा श्रीलंका, बंगलादेश र अफगानिस्तानको ए टिम र ओमान छन् ।
भारतीय टिम
यश डुल (कप्तान), अभिषेक शर्मा(उपकप्तान) साई सुदर्शन, निकिन जोस, प्रदोस रन्जन पउल, रियान पराग, निशान्त सिन्धु, प्रबसिमरन सिंह, ध्रुव जुरेल, मानाव सुथर, युवराजसिंह दोडिया, हर्षित राना, आकाश सिंह, नितिश कुमार रेड्डी, राजभार्धन हंगार्गेकर ।