काठमाडौं – स्कटल्याण्डसँग पराजित हुँदै जिम्बाव्वे अक्टोबर-नोभेम्बरमा भारतमा हुने विश्वकप क्रिकेटमा छनोट हुन असफल भएको छ । सन् १९८३ देखि विश्वकप खेल्दै आएको जिम्बाव्वे लगातार २ वटा विश्वकपमा छनोट हुन असफल भएको हो । जिम्बाव्वे यो विश्वकप गुमाउने तेस्रो टेष्ट राष्ट हो । वेष्ड इण्डिज र आयरल्याण्ड यसअघि नै विश्वकपबाट बाहिरिसकेका छन् ।
श्रीलंका भने विश्वकपमा छनोट भइसकेको छ । यो जितपछि स्कटल्याण्डको विश्वकपमा छनोट हुने संभावना बलियो भएको छ । स्कटल्याण्डको र जिम्बाव्वेको समान ६ अंक छ तर रन रेटमा स्कटल्याण्ड अघि छ । स्कटल्याण्डले अब नेदरल्याण्ड्स सँग खेल्न बाँकी छ ।
यो खेलमा फराकिलो अन्तरको जित हात पारेमा भने स्कटल्याण्डको सट्टा नेदरल्याण्ड्स विश्वकपमा छानिने छ । नेदरल्याण्ड्सको ४ अंक छ । भारतमा हुने विश्वकपमा छनोट हुन जित्नै पर्ने खेलमा जिम्बाव्वे स्कटल्याण्डसँग ३१ रनले पराजित भयो । जितका लागि २३५ रनको सामान्य लक्ष्य पछ्याएको घरेलु टोली ४१.१ ओभरमा २०३ रन बनाउँदै अल आउट भयो ।
जिम्बाव्वेका लागि रायन बर्लले ८३ रनको शानदार पारी खेले पनि टिमलाई जिताउन असफल भए । सुरुवाती क्रममा ब्याटरलाई सस्तैमा गुमाएपछि जिम्बाव्वे दबाबमा परेको थियो । बर्लले सिकन्दर राजासँग पाँचौ विकेटका लागि ५४ र छैटौं विकेटका लागि वेस्ली मदभेरासँग ७३ रनको साझेदारी गरेका थिए ।
स्कटल्याण्डका क्रिश शोलेले ३ विकेट लिए । पहिला ब्याटिङ्ग गरेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २३४ रन बनाएको थियो । उसका लागि माइकल लिस्कले ४८ रन बनाए ।