क्यानको निर्वाचनका लागि माहोल बनाउदै पारस

Byekhel

२९ असार २०८०, शुक्रबार २९ असार २०८०, शुक्रबार २९ असार २०८०, शुक्रबार

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले साउनमा हुने काठमाडौं जिल्ला क्रिकेट संघको निर्वाचनका लागि योग्यता पुगेका सम्बन्धित सबैलाई सदस्यता लिन र सदस्यता नवीकरण गर्न आग्रह गरेका छन् । पूर्वकप्तान पारसले बिहीबार सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै राष्ट्रिय खेलाडी, अम्पायर, स्कोरर, क्लब र स्टेक होल्डरलाई सदस्यता लिन आग्रह गरेका छन् ।

उनले भने, ‘अहिलेको सबैभन्दा महत्वपूर्ण कुरा जिल्लाको चुनाव रहेकोले सम्पूर्ण राष्ट्रिय खेलाडी, अम्पायर, स्कोरर, क्लब र स्टेक होल्डरलारलाई आ-आफ्नो सदस्यता लिन आग्रह गर्दछु ।’ नेपाल क्रिकेट संघ क्यानको असार १५ गते खबसेको केन्द्रिय कार्यसमितिको बैठकले जिल्ला, प्रदेश र केन्द्रिय निर्वाचनको मिति तोकेपछि अहिले क्रिकेटको चुनावी माहोल बढेको छ ।

क्यानले असार १६ देखि साउन १० गतेसम्म साधारण सदस्यता वितरण गर्न जिल्ला संघलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । त्यसै अनुसार काठमाडौं जिल्ला क्रिकेट संघले असार २६ गते सूचना जारी गर्दै सदस्यता लिन र नविकरण गर्न आग्रह गरेको थियो । जिल्ला क्रिकेट संघको निर्वाचन साउन मसान्तसम्म गर्नुपर्ने क्यानले जनाएको छ ।

प्रदेश निर्वाचन भदौ १० र केन्द्रीय निर्वाचन असोज ५ र ६ गते हुने तय गरिएको छ । क्यानले दिएको विधानको हक हितको प्रयोग गरेर जिल्ला देखि नै असल र राम्रो नेतृत्व छानेर नेपाली क्रिकेटलाई ठुलो उर्जा दिन पारसले आग्रह गरेका छन् । ‘नेपाली क्रिकेट अघि बढ्न चाहन्छ भने हामीले जिल्ला देखि नै संरचना फेरबदल गर्नुपर्ने बेला आइसकेको छ । सबैलाई विधान अनुसार आफ्नो सदस्यता नविकरण गरेर नेपाली क्रिकेटलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्नु हुन हार्दिक अनुरोध गर्दछु’, पारसले भनेका छन् ।

By ekhel