प्रधानमन्त्री कप भलिबलमा पुरुषमा हेल्प नेपाल र महिलामा पुलिसले जिते उपाधि

Byekhel

३१ असार २०८०, आईतवार ३१ असार २०८०, आईतवार ३१ असार २०८०, आईतवार

काठमाडौं – नेपाल पुलिस क्लबको महिला टिम र हेल्प नेपालको पुरुष टिमले सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको उपाधि जितेका छन् । नेपाल भलिबल संघको आयोजनामा भएको लिगमा आफ्ना पाँचै प्रतिद्वन्द्वीलाई पराजित गरी शीर्षस्थानमा रहँदै फाइनल पुगेको पुलिसले शनिबार फाइनल खेलमा नेपाल एपीएफ क्लबलाई ३–१ सेटमा पराजित गर्दै महिलातर्फको उपाधि उचालेको हो ।

पुलिसले पहिलो सेट २५–१२ ले जित्यो भने दोस्रो सेट २१–२५ ले गुमायो । त्यसपछि तेस्रो र चौथो सेट २५–२३, २५–१९ ले आफ्नो पक्षमा पार्दै पुलिसको महिला टोलीले उपाधिसँगै ६ लाख रुपैयाँ नगद पुरस्कार पाएको छ । उपविजेता एपीएफले नगद ३ लाख, तेस्रो भएको न्यू डायमन्ड युथ स्पोर्टस् क्लबले नगद १ लाख ५० हजार र चौथो भएकव त्रिभुवन आर्मी क्लबले नगद ७५ हजार रुपैयाँ पाएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिगको पुरुष तर्फको खेलमा आफ्नो अविजित यात्रालाई कायम राख्दै हेल्प नेपाल स्पोर्टस् क्लबले पुरुष तर्फको उपाधि उचालेको छ । हेल्प नेपालले पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पार्‍यो भने दोस्रो सेट पुलिसले २५–११ ले जित्यो । तेस्रो र चौथो सेट २५–१८, २५–१८ ले आफ्नो पक्षमा पार्दै हेल्प नेपालले उपाधि जित्यो । उपाधिका साथ हेल्प नेपालले नगद ६ लाख रुपैयाँ र उपविजेता पुलिसले ३ लाख रुपैयाँ पाएको छ ।

तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबले १ लाख ५० हजार र चौथो स्थानमा रहेको एपीएफले ७५ हजार रुपैयाँ पाएको छ । ८ दिनसम्म चलेको लिगमा सर्वोत्कृष्ट खेलाडी महिलातर्फ नेपाल पुलिस क्लबकी पुनम चन्द र पुरुष तर्फ हेल्प नेपालका यमल खान घोषित भए । सर्वोत्कृष्ट खेलाडीहरुले जनही ३५ हजार रुपैयाँ पाए ।

महिलातर्फ नेपाल पुलिसकी शान्तिकला तामाङ उत्कृष्ट लिवेरो, कमला पुन उत्कृष्ट सेटर, उषा भण्डारी उत्कृष्ट स्पाइकर, रुपेश बिष्ट उत्कृष्ट प्रशिक्षक र सुमित्रा रेग्मी उदीयमान खेलाडी घोषित भए । यस्तै एपीएफकी सरस्वती चौधरी उत्कृष्ट सर्भर र आर्मीकी संगम महतो उत्कृष्ट ब्लकर घोषित भए ।

पुरुषतर्फ हेल्प नेपालका टोपबहादुर थापा उत्कृष्ट लिवेरो, अद्नान खान उत्कृष्ट सेटर, मजहर अली उत्कृष्ट स्पाइकर र उत्सव खड्का उत्कृष्ट प्रशिक्षक घोषित भए । यस्तै उत्कृष्ट सर्भरमा एपीएफका हेमन्त मल्ल, उत्कृष्ट ब्लकरमा आर्मीका दुर्गाबहादुर खड्का र उदीयमान खेलाडीमा नेपाल पुलिसका रविन चन्द घोषित भए ।

विधागत तर्फका उत्कृष्ट खेलाडीले जनही नगद १५ हजार र उदियमान खेलाडीहरुले जनही १० हजार प्राप्त गरे । विजयी टिम तथा खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, गण्डकी प्रदेशसभा सदस्य लिलबहादुर थापा, राष्ट्रिय बाणिज्य बैंकका कार्यकारी प्रमुख किरणकुमार श्रेष्ठ, पूर्व अन्तर्राष्ट्रिय खेलाडी एवं सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक दुर्जकुमार राई लगायतले पुरस्कार वितरण गरे ।

प्रतियोगितामा पुरुषतर्फ तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफल क्लब र नेपाल पुलिस क्लब, हेल्प नेपाल, दावाँली मिलन क्लब, सैलुङ्ग बाघढुङ्गा स्पोर्टस् क्लब र गण्डकी प्रदेश भलिबल संघ तथा महिला तर्फ तीन विभागीय टोली आर्मी, एपिएफ, पुलिस क्लब, न्यूडायमन्ड युथ स्पोर्टस् क्लब, एभरेष्ट भलिबल क्लब र गण्डकी प्रदेश भलिबल संघले प्रतिस्पर्धा गरेका थिए ।

By ekhel