काठमाडौं – श्रीलंकामा एसिया कपको तयारी गरिरहेको नेपाली क्रिकेट टोलीले बुधबार पहिलो अभ्यास खेलमो श्रीलंकाको स्थानीय टोली ब्लूमफिल्ड क्रिकेट एण्ड एथ्लेटिक्स क्लबसँग ६ विकेटले पराजय व्यहोरेको छ । सोमपाल कामीको कप्तानीम मैदान उत्रेको नेपाली टिमले टस जितेर ब्याटिङ गर्दा ४३.४ ओभरमा १९७ रन बनाएको थियो ।
ब्लूमफिल्डले २४.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । ब्लूमफिल्डका लागि हसिता बोयागोडाले ५३ बलमा ७ चौका र ७ छक्कासहित ९० रनको आक्रमक इनिङ खेले । उनी प्रतिश जिसीको बलमा अर्जुन साउदबाट क्याच आउट भए । त्यस्तै असान फेनान्डोले ५६, ओपनर सानदुन विराकोडीले ३१ रन बनाए । नेपालका लागि सूर्य तामाङले २ र प्रतिश जिसीले २ विकेट लिए ।
पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर अर्जुन साउदले ११३ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ७९ रन जोडे । अर्का ओपनर देव खनालले २२, गुल्सन झाले ९, सन्दीप जोराले ३१, पवन सरार्फले १०, सोमपाल कामीले ११, प्रतिश जिसीले १६ र करण केसीले ११ रन बनाए ।