काठमाडौं – दुई पटकको विजेता जर्मनी महिला विश्वकप फुटबलमा समूह चरणबाटै घर फर्केको छ । आफ्नो समूहको अन्तिम खेलमा दक्षिण कोरियासँग १–१ को बराबरीमा रोकिएसँगै जर्मनी विश्वकपको नकआउट चरणमा पुग्न असफल भयो ।
जर्मनीलाई बराबरीमा रोकेको कोरिया समूहको पुछारमा रहँदै घर फर्केको छ । खेलको छैटौं मिनेटमा चो सु ह्युनले दक्षिण कोरियलाई अग्रता दिलाएको भए पनि जर्मनीकी कप्तान एलेक्जेन्ड्रा पोप्पले ४२ औं मिनेटमा गोल फर्काएकी थिइन् । त्यसपछि थप गोल नहुँदा जर्मनी र कोरिया दुवै बाहिरिए ।
यो समूहबाट मोरक्को र कोलम्बिया नक आउट चरणमा पुगेका छन् । मोरक्कोले नक आउट चरणमा पुग्ने क्रममा कोलम्बियालाई १–० ले हरायो । यो नतिजा पछि दुवै टिमको समान ६ अंक भए पनि कोलम्बिया समूह विजेता भयो भने मोरक्को उपविजेता भयो ।
जर्मनीले दक्षिण कोरियालाई हराउन नसकेको फाइदा मोरक्कोलाई भयो । समूह चरणको पहिलो खेलमा जर्मनीसँग ६–० को हार व्यहोरेको भए पनि मोरक्को पहिलो सहभागितामा नै विश्वकपको नकआउट चरणमा पुग्न सफल भयो ।