ताप्लेजुङ गोल्ड कप प्रतियोगितामा पाहुना टोली इटहरीको विजयी सुरुवात

Byekhel

१५ भाद्र २०८०, शुक्रबार १५ भाद्र २०८०, शुक्रबार १५ भाद्र २०८०, शुक्रबार

काठमाडौँ – बिहीबारदेखि सुरु भएको ताप्लेजुङ गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा पाहुना टोली इटहरीले विजयी सुरुवात गरेको छ । स्थानीय माना भरा स्पोर्टिङ क्लबलाई ट्राई बेकरमा ५–४ गोलले पराजित गर्दै जुट विकास फुटबल एकेडेमी सुनसरी, इटहरीले विजयी सुरुवात गरेको हो ।

प्रतियोगिताको उद्घाटनअन्तर्गत निर्धारित तथा अतिरिक्त समयमा दुवै टोलीबिच १–१ गोलको बराबरीमा खेल टुङ्गिएको थियो । उद्घाटन खेलको निर्णयका लागि भएको ट्राई बेकरमा इटहरीले पाँच गोल गर्दै जित निकालेको हो । घरेलु टोली माना भरा स्पोर्टिङ क्लब ताप्लेजुङले भने चार गोल मात्र गर्न सफल भयो ।

शुक्रवार दोस्रो दिन रेडहर्स फुटबल क्लब इलाम र गोर्खा स्पोर्टिङ क्लब झापाबिच खेल हुने आयोजक लाखे जात्रा सञ्चालन समितिले जनाएको छ । यस पटकको प्रतियोगितामा भारत दार्जिलिङको युनाइटेड खरसाङ क्लबसहित आठ टोलीको सहभागिता रहेको छ ।

गोल्ड कप विजेताले तीन लाख ११ हजार १११ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै उपविजेताले एक लाख ११ हजार १११ नगद पाउने छ । खेलकुदको माध्यमबाट ताप्लेजुङको पर्यटन प्रवर्द्धन गर्ने, स्थानीय बजारलाई चलायमान बनाउने उद्देश्यसहित हरेक वर्ष लाखे जात्राको अवसरमा प्रतियोगिता आयोजना गरिँदै आएको छ ।

जिल्लाकै ठुलो धनराशि भएको यो फुटबल प्रतियोगिता विभिन्न नामबाट विगत २०२९ सालदेखि सञ्चालन हुँदै आएको छ । यस वर्षको प्रतियोगिताको उद्घाटन फुङ्लिङ नगरपालिका नगरप्रमुख अमिर मादेनले गर्नुभएको थियो भने प्रतियोगिता आउँदो बुधवार सम्पन्न हुने छ

By ekhel