काठमाडौं – नेपालले यसै महिना साफ यू–१९ फुटबल च्याम्पियनसिप- २०२३ को आयोजना गर्दैछ । प्रतियोगिता असोज ४ देखि १३ गतेसम्म काठमाडौँमा सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुन विदेशी टोलीहरु मंगलबारदेखि नेपाल आउन सुरु गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
मंगलबार साँझ भारतको टोली नेपाल आइपुग्नेछ । मंगलबार नै माल्दिभ्स, बंगलादेश र भुटानको टोली पनि नेपाल आइपुग्नेछन् । त्यसपछि बुधबार विहान पाकिस्तानी टोली नेपाल आउने छ । नेपाल प्रतियोगिताको समूह ‘ए’ मा छ । उक्त समूहमा नेपालसँगै पाकिस्तान र माल्दिभ्स रहेका छन् ।
समूह ‘बी’ मा भने भारत, भुटान र बंगलादेश रहेका छन् । नेपालले असोज ४ गते दशरथ रंगशालामा पाकिस्तानसँग आफ्नो पहिलो खेल खेल्नेछ । प्रारम्भिक चरणको खेलपछि दुबै समूहको अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।