काठमाडौं – ६ वर्षपछि युरोपियन च्याम्पियन्स लिगमा फर्किएको आर्सनलले २०२३-२४ सिजनको पहिलो खेलमा पिएसभी आइन्डहोभनमाथि सानदार जित निकालेको छ । समूह बी अन्तर्गत घरेलु मैदान एमिरेट्स मैदानमा बुधबार राति भएको खेलमा आर्सनल ४-० ले विजयी भएको हो ।
उत्कृष्ट सुरुआत गर्ने क्रममा आर्सनलले पहिलो हाफमै तीन गोल गरेको थियो । बुकायो साकाले आठौं मिनेटमा गोल गर्दै अग्रता दिलाएको खेलमा लियोन्ड्रो ट्रोसार्डले २०औं मिनेटमा आर्सनलको अग्रता दोब्बर पारे । गाब्रीएल जेससले ३८औं मिनेटमा गोल गर्दै आर्सनलको अग्रता ३-० बनाए । त्यसपछि कप्तान मार्टिन ओडेगार्डले ७०औं मिनेटमा आर्सनलको लागि चौथो गोल गरे ।
जितपछि आर्सनलले ३ अंकसहित च्याम्पियन्स लिगको यात्रा गरेको छ । यसै समूहको अर्को खेलमा स्पानिस क्लब सेभिया र फ्रेन्च क्लब लेन्सले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
यसैगरी समूह डी को खेलमा अर्को स्पानिस क्लब रियल सोसिडाडले इटालियन क्लब इन्टर मिलानलाई १-१ को बराबरीमा रोकेको छ । यसै समूहको अर्को खेलमा एफसी साल्जवर्गले वेनफिकालाई २-० ले हरायो ।