काठमाडौँ – आईसीसी विश्वकप २०२३ को दोस्रो सेमिफाइनलमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दैछन्। कोलकताको इडेन गार्डेनमा हुने खेल दिउँसो सवा २ बजेपछि सुरु हुनेछ। दक्षिण अफ्रिका अंक तालिकाको दोस्रो र अस्ट्रेलिया तेस्रो स्थानमा रहेर सेमिफाइनल खेल्न लागेका हुन्।
सन् १९९९ र २००७ को विश्वकपको सेमिफाइनलमा यी दुई टोली आमने सामने भएका थिए। दुई भिडन्तमा अस्ट्रेलियाले बाजी मारेको छ। यी दुई टोली सन् १९९२ को विश्वकपमा पहिलो पटक भेट भएका थिए। पछिल्ला ५ खेलमा अस्ट्रेलिया अपराजित छ भने दक्षिण अफ्रिकाले ४ खेलमा जित निकाल्दा एक खेलमा हारको सामना गर्नुपरेको छ।
यो खेलको विजेताले आइसीसी विश्वकप २०२३ को उपाधिका लागि आइतबार भारतको सामना गर्नेछ। भारत अपराजित रहेर फाइनलमा पुगेको हो। न्युजिल्याण्डलाई ७० रनले हराउँदै भारत विश्वकपको उपाधि नजिक पुगिसकेको छ।