केपी ओली टि–२० क्रिकेट कपमा विभागीय टिम एपीएफले लुम्बिनीलाई हरायो

Byekhel

१० मंसिर २०८०, आईतवार १० मंसिर २०८०, आईतवार १० मंसिर २०८०, आईतवार

काठमाडौँ, १० मङ्सिर – पोखरामा जारी केपी ओली टि–२० क्रिकेट कपमा विभागीय टिम एपीएफले लुम्बिनी प्रदेशलाई ८४ रनले पराजित गरेको छ । १५२ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६७ रन मात्र बनाउन सक्यो । एपीएफको जितमा अरुण ऐरीले सर्वाधिक ५ विकेट लिए । एपीएफकै भुवन कार्कीले २, अविनाश बोहरा र अमर रौटालाले १/१ विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको एपीएफले २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । ब्याटिङमा एपीएफका लोकेश बमले उत्कृष्ट पारी खेल्दै १३ बलमा ३ छक्का र ३ चौकाको मद्दतमा ३२ रन जोड्न सफल भए । १५२ रनको लक्ष्य पछ्याएको लुम्बिनीका निर्मल गुरुङले १४ र रोशन गुप्ताले अविजित १३ रन बनाए ।  अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । पहिलो खेलमा एपीएफ गण्डकी प्रदेशसँग ४ विकेटले पराजित भएको थियो ।

समूह बी मा रहेका एपीएफ र गण्डकीले एक जितसहित २/२ अंक बनाउँदा लुम्बिनी अंकविहीन छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबारबाट सुरु भएको प्रतियोगितामा ७ प्रदेशका ७ टिमसहित विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपLएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिम सहभागी छन् । प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

By ekhel