काठमाडौं – बंगलादेशको क्रिकेट टिमका कप्तान शकिब अल हसन संसदीय चुनावमा उठ्ने भएका छन् । उनले सत्तारुढ अवामी लिगको तर्फबाट टिकट पाएका छन् । पुस २७ गते हुने संसदीय निर्वचानमा उनले आफ्नो गृह जिल्ला मगुरा–१ बाट उम्मेदवारी दिनेछन् ।
बंगलादेशका पूर्वकप्तान मशरफे मोर्तजाको बाटो पछ्याउँदै उनी पनि राजनीतिमा लागेका बंगलादेशी सञ्चार माध्यमले जनाएका छन् । मोर्तजा गत चुनावमा नराइल क्षेत्रबाट सांसद बनेका थिए । उनी यो पटक पनि पार्टीबाट टिकट पाएका छन् । मोर्तजा आफ्नो क्षेत्रका सामाजिक गतिविधिमा पहिल्यैदेखि सक्रिय रहे पनि शकिब भने यस्ता गतिविधिमा देखिने गरेका थिएनन् ।
शकिब विश्वकप क्रिकेटमा श्रीलंकासँगको खेलका क्रममा घाइते भएका थिए । उनी कहिले मैदानमा फर्कनेछन् भन्ने अझै स्पष्ट भइसकेको छैन । बंगलादेशले नोभेम्बर २८ देखि डिसेम्बर ३१ सम्म न्यूजिल्याण्डको भ्रमण गर्ने छ । चुनावमा उठ्ने भएपछि उनले न्यूजिल्याण्डको भ्रमण वा चुनाव प्रचार एक रोज्नु पर्ने छ ।