काठमाडौं – प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटीले दुई गोलको अग्रता जोगाउन नसक्दा क्रिस्टल प्यालेससँग २-२ को बराबरीमा रोकिएको छ । सिटीको घरेलु मैदानमा भएको खेलको इन्जुरी टाइममा प्यालेसले पनाल्टीमा गोल गर्दै नाटकिय रुपमा बराबरी गरेको हो । खेलको २४औं मिनेटमा ज्याक ग्रिलिसले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा रिको लेविसले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।
तर यो अग्रता सिटीले जोगाउन सकेन । ७६औं मिनेटमा प्यालेसका जिन फिलिपि माटेटाले गोल गर्दै गोल अन्तरमा कम पारे । तैपनि सिटी जित नजिक थियो । तर इन्जुरी टाइमको चौथो मिनेटमा प्यालेसले भिएआरको सहयोगमा पेनाल्टी पायो । फिल फोडेनले माटेटालाई फल गरेपछि प्यालेसले पेनाल्टी पाएको थियो ।
सुरुमा रेफ्रीले पेनाल्टी दिएपछि भिएआरले पनि पेनाल्टी सदर गर्यो ।त्यसमा माइकल ओलिसले कुनै गल्ती नगरी गोल गरे । बराबरीपछि सिटीले दोस्रो स्थानमा उक्लने अवसर गुमायो । १६ खेलबाट ३४ अंक जोडेको सिटी चौथो स्थानमै छ । क्रिस्टल प्यालेस १७ खेलबाट १७ अंकसहित १५औं स्थानमा छ ।
लिगकै अन्य खेलमा चेल्सीले शेफिल्ड युनाइटेडलाई २-०, न्युकासल युनाइटेडले फुलहमलाई ३-० र एभरटनले बर्नलीललाई २-० ले नै हराएको छ । बर्नमाउथ र लुटोन टाउनले १-१ को बराबरी खेले । जितपछि न्युकासल १७ खेलबाट २९ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ । चेल्सी समान खेलबाट २२ अंक जोडेर दशौँ स्थानमा उक्लेको छ ।