काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । त्यसक्रमा उनले बागमती प्रदेशमाथि ८९ रनको फराकिलो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले सन्दीप जोराको शतक मद्दतमा ९ विकेट गुमाउँदै २४१ रन बनाएको थियो ।
पाँचौं नम्बरमा ब्याटिङमा आएको जोराले एक छेउबाट इनिङ सम्हाल्दै ११७ बलमा ११२ रन बनाए । त्यस क्रममा ५ छक्का र ७ चौका हाने । उनले छैटौं विकेटका लागि लोकेश बमसँग ६६ रनको र आठौं विकेटका लागि अमर रौतैलासँग ६८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । बम २७ र रौतेला २२ रनमा आउट भए ।
बलिङतर्फ बागमतीका लागि सूर्य तामाङले सार्वधिक ३ विकेट लिए । प्रतिश जिसी, रिजन ढकालले २/२ विकेट लिए । सोनु देवकोटाले १ विकेट लिए । जितका लागि २४२ रनको लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा १५२ रन बनाउँदै अलआउट भयो । बागमतीका लागि कप्तान रित गौतमले सर्वाधिक ६० रन बनाए । उनले ८९ बलमा ८ चौका प्रहार गरे ।
ओपनर इशान पाण्डे खाता नै नखोली आउट भए पनि अशुतोष घिरैयाले ५७ बलमा ५ चौकासहित ४१ रन बनाए । उनले रितसँग दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरेका थिए । एक समयमा बागमती २ विकेटको क्षतिमा ११५ रनको स्थितिमा थियो । तर २९।३ ओभरमा टिमको स्कोर ११५ रन हुँदा विवेक मगर तेस्रो विकेटका रुपमा व्यक्तिगत १५ रनमा आउट भएपछि बागमतीको विकेट पतनको शृंखला सुरु भयो ।
रित गौतम चौथो विकेटका रुपमा टिमको स्कोर १२० रन हुँदा आउट भए । त्यसपछि ब्याटिङमा आएका रबिन जोशी २० रनमा नट आउट रहे पनि अन्य कुनै पनि ब्याटरले दोहोर अंकमा रन जोड्न सकेनन् ।एपीपएफलाई जिताउन कप्तान रोहितकुमार पौडेल एक्लैले ४ विकेट लिए ।
लागि मौसम ढकाल र अभिनास बोहोराले २/२ विकेट लिए । पुरन विक र भुवन कार्कीले समान १/१ विकेट लिए । पहिलो खेलमा नेपाल पुलिससँग ६८ रनले पराजित भएको बागमतीको यो लगातार दोस्रो हार हो ।