आदिल अन्सारी नेपाली क्रिकेट टोलीमा फर्किने बाटो खुल्याे

Byekhel

१३ चैत्र २०८०, मंगलवार १३ चैत्र २०८०, मंगलवार १३ चैत्र २०८०, मंगलवार

काठमाडौं – युवा हिटर आदिल अन्सारी नेपाली क्रिकेट टोलीमा फर्किने बाटो खुलेको छ । गतवर्ष पुसमा नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेपछि उनी नेपाल र घरेलु क्रिकेट दुबैबाट बाहिर थिए । उक्त आरोपपछि पक्राउ परेका पूर्वक्रिकेटर महबुब आलम र अन्सारीलाई अदालतको आदेशमा ३ लाख धरौटी बुझाएर रिहा भएका थिए । उक्त मुद्धामा अन्तिम फैसला नहुँदा आदिलले घरेलु र अन्तर्राष्ट्रिय दुबै खेल खेल्न पाएका थिएनन् ।

सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले आरोपमा दाबी नपुग्ने भन्दै आदिल र महबुबसँगै स्पट फिक्सिङको आरोप लागेका पाँच जनालाई नै सफाइ दिएको छ । योसँगै नेपाली क्रिकेट टोलीमा फर्किएने बाटो खुलेको हो । ‘अदालतले सफाइ दिएपछि नेपाली क्रिकेटमा फर्किने बाटो त खुलि नै हाल्यो ।

तर यो कुरा बोर्डमा जान्छ । बोर्डबाट नै निर्णय हुन्छ । यसअघि पनि बोर्डले नै कारबाही गरेको थियो’, क्यानका क्रिकेट म्यानेजर विनोद दासले भने । आदिल नेपाली क्रिकेटमा ठूलो सम्भावना बोकेका युवा अलराउन्डर हुन् । उनले नेपालबाट ६ ओडीआई र ८ टी-२० आई खेल खेलेका छन् ।आदिलले २०२२ मा अमेरिकाविरुद्ध ओडीआईमा डेब्यू गरेका थिए । टी-२० आईमा पपुवा न्युगिनीविरुद्ध त्यसै वर्ष त्रिवि क्रिकेट मैदानमा डेब्यू गरेका थिए ।

आदिल पछिल्लो समय भारतमा गएर घरेलु क्रिकेट खेल्ने गरेका थिए । सफाइ पाएपछि अन्सारीले आफूले नयाँ जन्म पाएको प्रतिक्रिया दिएका छन् । ‘सबैभन्दा पहिले त धेरै खुसी लागेको छ । नेपाल टिमबाट खेल्ने फेरि रहर जागेको छ र आफ्नो तर्फबाट जति मेहनत गर्नपर्छ म गर्छु र नेपाल टिमबाट खेल्छु’, उनले भने ।

By ekhel