इटहरी – इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । इटहरी रङगशालामा बिहीबार राति भएको सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधिका निम्ति आर्मीसँग भिडने पक्का भएको हो ।
चर्च ब्वाइज झापा गोल्डकप विजेता टोली हो । यो टोली इटहरी गोल्डकपको अघिल्लो संस्करणको उपविजेता हो । चर्च ब्वाइजका लागि समीर तामाङले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ८९ औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।
उनी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार हात पारेका छन् । उपाधिका निम्ति भोलि चर्च ब्वाइज र आर्मीबीच स्पर्धा हुनेछ । गत बुधबार राति त्रिभुवन आर्मी साबिक विजेता मोरङको सगरमाथा क्लबलाई पेनाल्टी सुट आउटमा २–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो । फाइनल खेल जित्नेलाई नगद रु १० लाख र उपविजेतालाई रु पाँच लाख प्रदान गरिनेछ ।