काठमाडौँ – नेपालमा पहिलो पटक पुरुष भलिबल फ्रेन्चाइज लिग हुने भएको छ। नेपाल भलिबल संघले आइतबार काठमाडौँमा एक कार्यक्रम गर्दै फ्रेन्चाइजी लिगका लागि केडिया ग्रुपसँग सम्झौता गरेको हो। सम्झौता पत्रमा संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र केडिया ग्रुपका प्रवन्ध निर्देशक विमल कुमार केडियाले हस्ताक्षर गरे।
संघ र केडिया ग्रुपबीच ७ वर्षको सम्झौता भएको छ। लिग सम्पन्न गर्न लाग्ने सम्पुर्ण खर्च केडिया ग्रुपले व्यवस्थापन गर्नेछ। त्यो बाहेक केडिया ग्रुपले भलिबल संघलाई हरेक वर्ष ३५ लाख रुपैयाँ उपलब्ध गराउनेछ। लिगको पहिलो संस्करण आगामी माघ(फागुन महिनामा गर्ने लक्ष्य राखेको संघका अध्यक्ष चन्दले बताए।
लिगको पहिलो संस्करण काठमाण्डौमा हुनेछ भने अन्य संरकरणहरु होम एण्ड अवेको आधारमा अन्य शहरहरुमा समेत खेलाइने लक्ष्य संघले राखेको छ। केडिया ग्रुपका प्रबन्ध निर्देशक विमल कुमार केडियाले आगामी आर्थिक वर्षमा भलिबलका लागि कभर्डहल बनाउन सबै मिलेर पहल गर्नुपर्ने बताए।