काठमाडौँ – नेपाल कराते महासङ्घले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई आज स्वागत गर्दै बधाई दिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको केन्द्रीय डोजोमा आयोजित कार्यक्रममा कराते महासङ्घका महासचिव दावा गुरुङले उहाँहरूलाई बधाई दिँदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिनुभयो ।
सो अवसरमा उपप्रधानमन्त्री सिंहले स्वस्थ र अनुशासित नागरिक तयार गर्न र अन्तर्राष्ट्रियजगत्मा राष्ट्रलाई चिनाउन खेलकुद क्षेत्रको ठूलो भूमिका रहेको बताउनुभयो । खेलकुदमन्त्री चौधरीले खेलक्षेत्रको विकासका लागि सबै मिलेर एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
बागमती प्रदेशका खेलकुदमन्त्री महर्जनले खेलकुदको महत्त्व बुझेरै खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेको बताउँदै बागमती प्रदेशमा खेलकुदलाई चलायमान बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले सम्मानित सबैसँग खेलकुदको राम्रो अनुभव रहेको बताउँदै उहाँहरूको कार्यकालमा खेलकुद क्षेत्र र खेलाडीमा नयाँ ऊर्जा सञ्चार हुने विश्वास व्यक्त गर्नुभयो ।
कराते महासङ्घका महासचिव दावा गुरुङले कुनै पनि क्षेत्रमा ‘राइट म्यान इन राइट प्लेस’ अवधारणा लागू गर्नसके मात्र त्यो क्षेत्रको अपेक्षित विकास सम्भव हुने धारणा व्यक्त गर्नुभयो । करातेका नवनियुक्त मुख्य प्रशिक्षक दीपक श्रेष्ठले सातदोबाटोस्थित कराते हलमा होस्टेल बनाउने योजना रहेको बताउँदै आकर्षक पुरस्कार राशिको टिम कुमुते प्रतियोगिता पनि आयोजना गर्ने जानकारी दिनुभयो ।
सो अवसरमा १९औँ एसियाली खेलकुदकी ऐतिहासिक रजत विजेता करातेकी एरिका गुरुङलाई नगदसहित सम्मान गरिएको थियो । एरिकालाई रु एक लाख नगदसहित सम्मान गरिएको हो । एरिकाका प्रशिक्षक कुशल श्रेष्ठलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो ।