काठमाडौँ – नेपाली कबड्डी इतिहासमा पहिलो पटक आयोजना हुन लागेको नेपाल कबड्डी लिग (एनकेएल) मा ६ टिमले सहभागिता जनाउने भएका छन् । शुक्बरार राजधानीमा आयोजित एनकेएलको लोगो सार्वजनिक कार्यक्रममा आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले पहिलो संस्करणमा ६ टिम सहभागि हुने जानकारी दिएको हो ।

कार्यक्रममा एनकेएलको पहिलो संस्करणमा ६ सहरको नामबाट टिम सहभागि हुने घोषणा गरिएको हो । जसमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, बुटवल र धनगढी सहरको नाम छन् । यही सहरको टिम बन्नेछ । लिगको आयोजना मिति भने छिटै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

अखिल नेपाल कबड्डी संघले एनकेएल आयोजनाका लागि गत वर्ष माघमा पुरुष एनकेएलको एस्ट्रोनिक्स म्यानेजमेन्टसँग १० वर्षको लागि सम्झौता गरिसकेको छ । लामो समयमको तयारीपछि एनकेएलको लोगो र सहभागि हुने टिमको सहरको नाम सार्वजनिक गर्न पाउँदा निकै खुशी लागेको एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष अमित बेदानी र कबड्डी संघका महासचिव अरविन्द झाले बताए ।

यसैगरी शुक्रबारै एनकेएलको आधिकारिक लोगो सार्वजनिक गरिएको छ । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले रिमोट थिचेर लोगो अनावरण गर्ने । साथै एनकेएलको विजेताले पाउने ट्रफी पनि सार्वजनिक गरिएको छ । गृहमन्त्री लेखकसहित युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र एस्ट्रोनिक्कसका अध्यक्ष बेदानीले ट्रफी सार्वजनिक गरे ।

कुनै समय नेपालको राष्ट्रिय खेल भनेर चिनिने कबड्डी केही समय पछाडी परेपनि पछिल्लो समय नेपालमा फेरि चर्चामा आउन थालेको छ । विशेषगरी गत वर्ष चीनको हान्झाउमा भएको १९औं एसियाली खेलकुदमा डेब्यु गर्दै नेपालको महिला कबड्डी टिमले ऐतिहासिक कास्य पदक जितेको थियो । यस्तै दषिण एसियाली खेलकुदमा पनि महिला टिमले रजत पदक सम्म जितेको छ ।

पहिलो पटक पुरुष कबड्डीको लिग हुन लागेको हो । यस्तै महिला कबड्डीको लिग पनि गर्ने गरी कबड्डी संघले एस्ट्रोनिक्स म्यानेजमेन्टसँग सम्झौता गरेको संघका महासचिव झाले जानकारी दिए । छिमेकी भारतमा अहिले प्रो कबड्डी लिग चलिरहेको छ ।

त्यही शैलीमा नेपालमा पनि फ्रेन्चाइज कबड्डी लिग सुरु गर्न लागिएको हो । प्रो कबड्डी सकिएलगत्तै नेपालमा पनि एद्दकेएल गर्ने आयोजकको तयारी छ । एनकेएलका लागि कबड्डी संघले प्रो कबड्डीमा काम गरेका ई प्रसाद रावलाई नै प्रावधिक निर्देशकको भूमिकामा नियुक्त गरिसकेको छ ।

By ekhel