बागमती – मकवानपुरको बागमती गाउँपालिकामा सञ्चालित सातौँ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले विजयी सुरुआत गरेको छ । बागमती गाउँपालिका–४ झुरझुरेस्थित सहिद स्मृति फुटबल रङ्गशालामा सञ्चालित प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा चितवनको हमानी बिएफसीलाई ट्राइब्रेकरमा ३–१ गोलअन्तरले पराजित गर्दै एपिएफले विजयी सुरुआत गरेको हो ।
निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो । प्रतियोगिताअन्तर्गत भोलि विभागीय टोली त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिष्पर्धा हुने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहरसिंह थिङले जानकारी दिनुभयो ।
यही फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका सात र मोफसलका तीन क्लब गरी १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताका विजेता टिमले पुरस्कारस्वरुप नगद रु १० लाख हात पार्ने छभने उपविजेतालाई नगद रु पाँच लाख प्रदान गरिने आयोजकले जनाएको छ ।