मेचीनगर गोल्डकपः धरान एफसी विजयी

Byekhel

२७ फाल्गुन २०८१, मंगलवार २७ फाल्गुन २०८१, मंगलवार २७ फाल्गुन २०८१, मंगलवार

झापा – काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकपको आज भएको खेलमा पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी टाइब्रेकरमा धरान फुटबल क्लबसँग ५–३ को गोलअन्तरले पराजित भएको छ । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमको १–१ गोलको बराबरी भएपछि खेललाई टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा धरानका कप्तान मिलन राई, सुरज रसाइली, प्रज्वल थापा, अजय विष्ट र सुगम जिसीले गोल गरे । ब्ल्याक बुल्सका खुसन गनुनोभ, अजिजबेक खुसौनोबेभ र कुभनबेकले गोल गरेका थिए । खेलको ६०औँ मिनेटमा ब्ल्याक बुल्सले पहिलो गोल गर्दै अग्रता लिएको थियो । इस्लोमजोनको क्रस पासमा आशिषभेक एरिफजोनोभको हेडर गोलमा परिणत भएको थियो ।

खेलको ८४औँ मिनेटमा जवाफी गोल फर्कायो । कप्तान मिलन राईको पासमा वैकल्पिक खेलाडी सुगम जिमीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । खेलपछि धरानका प्रशिक्षक हेम गुरुङले बलियो प्रतिद्वन्द्वीमाथि आफ्ना खेलाडीहरुको उत्कृष्ट प्रदर्शनका कारण जित हासिल गर्न सफल भएको बताउनुभयो । ब्ल्याक बुल्सका प्रशिक्षक सामिप्य सुवेदीले खेलाडीहरुले लामो यात्राका कारण अपेक्षित प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए ।

प्लेयर अफ द म्याच धरानका गोलरक्षक विपुल मगर भए । उनले रु ११ हजार प्राप्त गरे । मङ्गलबारको खेल विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ एफसी र मछिन्द्र फुटबल क्लबबीच हुने आयोजक समितिका सचिव राजु कार्कीले जानकारी दिनुभयो । आगामी चैत २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले रु १० लाख र ट्रफी तथा उपविजेताले रु पाँच लाख र ट्रफी प्राप्त गर्नेछ ।

By ekhel