हेटौँडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई

Byekhel

२७ फाल्गुन २०८१, मंगलवार २७ फाल्गुन २०८१, मंगलवार २७ फाल्गुन २०८१, मंगलवार

मनहरी – दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि किङकम भेट्रान्स काठमाडौँले जितेको छ । हेटौँडामा आज सम्पन्न फाइनलमा फ्रिडम फाइटर भेट्रान्स काठमाडौँलाई ट्राइब्रेकरमा पराजित गर्दै किङकम भेट्रान्सले रु एक लाख ५० हजार पाँच सय ५५ पुरस्कार प्राप्त गरेको छ ।

खेलको १४औँ मिनेटमा फ्रिडम फाइटर भेट्रान्सका लागि कृष्ण मालाकारले गोल गर्दै अग्रता दिलाए । तर खेलको २७औँ मिनेटमा किङकम भेट्रान्सका लागि जगतमान लामाले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि निर्धारित समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरमा ३–२ गोलअन्तरले किङकम भेट्रान्स विजयी भएको हो ।

उपविजेता फ्रिडम फाइटर भेट्रान्सले रु ७५ हजार पाँच सय ५५ र शिल्ड प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक किङकम भेट्रान्सका राजकुमार पन्त, उत्कृष्ट फरवार्ड सरोज थापा, उत्कृष्ट गोलकिपर अमित प्रधान, उत्कृष्ट डिफेन्स सञ्जय रानामगर र उत्कृष्ट मिडफिल्डर उदयबहादुर गुरुङ घोषित भए ।

उनीहरुले जनही रु पाँच हजार प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तेञ्जिङ लामा घोषित भए । उनले रु १० हजार र ट्रफी प्राप्त गरे । उनीहरुलाई हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगिताले फुटबल खेलाडी उत्पादनमा सहयोग पुग्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

By ekhel