काठमाडौँ — युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको व्यवस्थापन सन्तोषजनक नभएको गुनासोपछि नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसँग स्पष्टीकरण लिएका छन्।
छठ पर्वका लागि धनुषा पुगेका मन्त्री गुप्ताले भारत भ्रमणमा रहेकी नेपाली महिला फुटबल टोलीको खानेपाने र बसोबास व्यवस्थापन कमजोर रहेको गुनासो आएको भन्दै एन्फा महासचिव राईलाई टेलिफोन सम्पर्क गरेका हुन्।
फोन संवादका क्रममा मन्त्री गुप्ताले सोधे, “के हो हाम्रो राष्ट्रिय महिला फुटबल खेलाडीको अवस्था ?”
जवाफमा महासचिव राईले टोलीले भारतविरुद्धको मैत्रीपूर्ण खेलमा जित हासिल गरेको र यसअघि इरानसँग पराजित भएको जानकारी दिँदै २९ अक्टोबरमा सिक्किमसँग खेल खेलेर टोली स्वदेश फर्किने बताए।
तर, मन्त्री गुप्ताले खेलाडीहरूको बसोबास र खानेपाने व्यवस्थापन राम्रो नभएकोबारे पुनः जिज्ञासा राखेपछि राईले भारतीय फुटबल संघ (इन्डियन एफए) ले मैत्रीपूर्ण खेलको व्यवस्थापन जिम्मा लिएको स्पष्ट पारे। उनले एन्फाले कुनै ट्राभल एजेन्टलाई जिम्मा नदिएको पनि बताए।
मन्त्री गुप्ता भने उक्त जवाफबाट सन्तुष्ट देखिएनन्। उनले भने,
“हाम्रो खेलाडीलाई विदेश पठाउँदा सम्पूर्ण व्यवस्थाको विवरण — खाना, बस्ने स्थान, तालिका — सबै कुरा एन्फासँग हुनुपर्छ। त्यो अध्ययनबिना कसरी राष्ट्रिय खेलाडी पठाइन्छ ?”
उनका अनुसार खेलाडीको व्यवस्थापन पूर्ण रूपमा अर्को देशको जिम्मामा छोड्दा पनि एन्फाले कार्यविधि र समयतालिका बुझ्नुपर्थ्यो। मन्त्री गुप्ताले यस विषयमा एन्फा महासचिवसँग भेट गरेर थप छलफल गर्ने बताएका छन्।
