कप्तानद्वय केसी र साह भन्छन्– पहिलो पटक फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

Byekhel

३ मंसिर २०८२, मंगलवार ३ मंसिर २०८२, मंगलवार ३ मंसिर २०८२, मंगलवार

काठमाडौँ – ‘फ्लड लाइट’को उज्यालोमा हजारौँ दर्शकले भरिएको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान सोमबार साँझ एकदमै उत्साहपूर्ण देखिएको थियो। नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलका लागि सीमित सिट उपलब्ध भएकाले धेरै समर्थकले मैदानबाहिर बसेरै खेलको आनन्द लिए।

पहिलोपटक टीयू मैदानमा फ्लड लाइटमा क्रिकेट हेर्न पाएका दर्शक मात्र होइन, खेलाडीहरू पनि उत्साहित देखिए। जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएपछि काठमाडौँ गोर्खाजका कप्तान करण केसीले फ्लड लाइटमा खेल्न पाउनु आफूहरूको लागि ऐतिहासिक क्षण भएको बताए। “आजको खेलमा छुट्टै रोमाञ्च अनुभव भयो। पहिलोपटक घरेलु मैदानमा दर्शकसमक्ष फ्लड लाइटमा खेल्दा भित्रैदेखि खुसी लागेको छ,” उनले भने, “फ्लड लाइटमा पहिलो खेलमै जित निकाल्न पाउँदा झनै खुसी छौँ।”

उनका अनुसार पिच स्पिनरहरूका लागि अनुकूल थियो र खेल जित्न पनि स्पिनरको भूमिकाले नै साथ दियो। “आगामी दिनमा अझ राम्रो गर्नेछौँ। नेपाली तथा विदेशी खेलाडीको प्रदर्शन पनि सन्तोषजनक छ,” केसीले भने। उनले गत संस्करणमा रहेका कमजोरी हटाएर उपाधि जित्ने लक्ष्यसहित टिम तयार भएको बताए।

जनकपुर बोल्ट्सका कप्तान अनिल साहले पनि नेपालमै पहिलोपटक फ्लड लाइटमा खेल्न पाउँदा अत्यन्त खुसी लागेको बताए। “नेपालमै फ्लड लाइटमा खेल्ने सपना थियो, आज त्यो पूरा भयो,” साहले खुशी व्यक्त गर्दै भने।

ब्याटिङमा लामो साझेदारी बनाउन नसक्दा खेल आफ्नो पक्षमा फर्किन नसकेको उनले स्वीकारे। “सुरुआत राम्रो थियो, आसिफले राम्रो खेले तर उनको साथमा अन्य ब्याटरले साझेदारी कायम गर्न सकेनन्। लक्ष्य पनि कम भएकाले दोस्रो पारीमा फर्कने मौका मिलेन,” उनले भने। पहिलो खेलमा हार व्यहोरिए पनि आगामी खेलहरूमा राम्रो प्रदर्शन गर्ने विश्वास उनले व्यक्त गरे।

एनपिएलको पहिलो संस्करण सफल भएपछि सरकारले टीयू मैदानमा फ्लड लाइट जडानमा चासो देखाएको थियो। फ्लड लाइट जडानका लागि सरकारले रु ४२ करोड १९ लाख खर्च गरेको छ। निर्माण कम्पनी विशन–ईश्वरी ज्वाइन्ट भेञ्चरले मैदानका छ वटा ठूला खम्बामा कुल ४२० वटा लाइट जडान गरिएको जानकारी दिएको छ।

एनपिएलका ३२ खेलमध्ये २३ खेल फ्लड लाइटमा हुने तय गरिएको छ। सोमबारदेखि सुरु भएको लिग मङ्सिर २७ गतेसम्म चल्नेछ। प्रतियोगितामा आठ टोली— विराटनगर किङ्स, जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, पोखरा एभेञ्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धामा छन्।

By ekhel