एनपीएलमा विराटनगर किंग्सको रोमाञ्चक जित, बसिर अहमद प्लेयर अफ दि म्याच

Byekhel

१४ मंसिर २०८२, शनिबार १४ मंसिर २०८२, शनिबार १४ मंसिर २०८२, शनिबार

काठमाडौं – बसिर अहमदको अविजित अर्धशतकप्रदर्शनसहित विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्समाथि ३ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो।

विराटनगरका लागि बसिरले ४३ बलमा ३ चौका र ३ छक्कासहित अविजित ६२ रन बनाएर टोलीलाई कठिन अवस्थाबाट उकास्दै जितसम्म पुर्‍याए। एक चरणमा ६५–५ को अवस्थामा रहेको विराटनगरलाई बसिरले धैर्यपूर्ण पारी खेलेर सम्हालेका थिए। उनले अन्तिम ओभरको पाँचौ बलमा नन्दन यादवलाई छक्का प्रहार गर्दै जीत सुनिश्चित गरे।

बसिरले छैटौं विकेटका लागि नारायण जोशीसँग ६९ रनको महत्वपूर्ण साझेदारी गरे। जोशीले १६ बलमा २ चौका र १ छक्का सहित २५ रन योगदान दिए। कर्णालीका कप्तान सोमपाल कामी र गुल्सन झाले समान २–२ विकेट हात पारे।

यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ३ विकेट गुमाएर १६० रनको प्रतिस्पर्धात्मक योगफल बनाएको थियो। ओपनर प्रियांक पान्चलले ४७ बलमा ६ चौका र २ छक्का सहित अर्धशतकीय ६३ रन बनाए। यो यस सिजन उनको दोस्रो अर्धशतक हो।

अष्ट्रेलियन खेलाडी विलियम बोसिस्टोले अविजित ४८ रन जोडे भने गुल्सन झाले २० रन जोड्न सफल भए। बलिङतर्फ विराटनगरका मर्चेन्ट डे लाङ र कप्तान सन्दीप लामिछानेले एक–एक विकेट लिए।

By ekhel